सामुहिक सरुवा नगरे काम ठप्प पार्ने त्रिभुवन विमानस्थल भन्सार कर्मचारीको चेतावनी

त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालयका कर्मचारीले आजवाट काम ठप्प पार्ने चेतावनी दिएका छन । सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार ठप्प पार्ने बताएका हुन । शुक्रबार विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी प्रक्राउ गरेपछि अरु कर्मचारी विरोधमा उत्रिएका हुन् । सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका ४ कर्मचारी यसअघि नै पक्राउ परेका छन । उनीहरुले माग सम्बोधन नभए भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पुर्ण कार्य बन्द गर्ने चेतावनी दिएका हुन । आज पनि माग सम्बोधन नभए भोली पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा उनीहरुले आइतबार नै गरेका छन । हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक बिरोध सुरु गरेका थिए । भदौं २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने कर्मचारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरु धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरुको आरोप छ । सोही कारण कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १ सय ३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफनो माग दुई साता लागिसक्दा पनि सुनवाई नभए पछि उनीहरु आन्दोलित भएका हुन । पहुचका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउने तर कर्मचारी तन्त्रलाई भने त्रसित बनाउने काम प्रहरीले गरेको आरोप पनि उनीहरुको छ । आफ्ना विरोध कार्यक्रमबारे उनीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव, डा. बैकुण्ठ अर्याल लगायतलाई पनि जानकारी गराएका छन ।

प्रतिक्रिया