भारतीय बिद्यार्थी नेता उमर खालिद सात दिनको जमानतमा छुट्ने
एजेन्सी । भारतीय बिद्यार्थी नेता उमर खालिदले सात दिनको लागि अन्तरिम जमानत (धरौटीमा रिहा) पाएका छन् ।
दिल्लीको एक अदालतले बुधबार जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)का पूर्व विद्यार्थी उमर खालिदलाई अन्तरिम जमानत दिएको हो । खालिदले सात दिनको लागि यो जमानत पाएका हुन् । दिल्लीको कर्कर्डुमा अदालतले खालिदलाई आफ्नो नातेदारको विवाहमा सहभागी हुन डिसेम्बर २८ देखि जनवरी ३ सम्म जमानत दिएको छ ।
जमानतमा उमर खालिदले आफ्ना आफन्त र साथीभाइलाई मात्र भेट्न सक्ने अदालतले जनाएको छ । यस अवधिमा उनी आफ्नो घर वा जहाँ कार्यक्रम भइरहेको छ, त्यहाँ बस्नेछन् । यसबाहेक अदालतले उनलाई सामाजिक सञ्जाल प्रयोग नगर्न र साक्षीसँग कुरा नगर्न भनेको छ । अदालतले धरौटीका लागि २० हजार रुपैयाँ धरौटी र दुई जमानतको दस्तखत बुझाएको छ । उमर खालिदलाई आतंकवाद विरोधी कानून ’अनलॉफुल एक्टिभिटिज (रोकथाम) ऐन’ अर्थात यूएपीए अन्तर्गत मुद्दा लगाइएको छ ।
विद्यार्थी नेता तथा सामाजिक कार्यकर्ता उमर खालिद सेप्टेम्बर २०२० देखि जेलमा छन् । उनीमाथि फेब्रुअरी २०२० मा उत्तर–पूर्वी दिल्लीमा हिंसा भड्काएको आरोप छ। उनीविरुद्ध दुईवटा एफआइआर दर्ता भएका छन् । एउटा मुद्दामा उमरले अप्रिल २०२१ मा जमानत पाएका थिए। दोस्रो मुद्दामा उनीविरुद्ध यूएपीए अन्तर्गत मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया