सर्लाही सदरमुकाम मलंगवामा प्रशासनले लगाएको कफ्र्यु हट्यो, मान्छे भेला हुन भने नपाइने
सर्लाहीको सदरमुकाम मलंगवामा लगाइएको कफ्र्यु हटेको छ । रु कफ्र्यु हटे पनि स्थानीय प्रशासनले भदौ २७ गते राति १२ बजेसम्म कुनै पनि किसिमका भेला र आमसभा गर्न रोक लगाएको छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासनले शनिबार निषेधाज्ञा जारी गरेको थियो । शनिवार दिउँसो ४ बजेदेखि जारी निशेषाज्ञा आज बिहान ८ बजे हटेको हो । निशेषाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ भने यातायात सेवा सुचारु भएका छन् । शुक्रबार कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । त्यसक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गरेको थियो । शनिबार पनि बिहानैदेखि मलंगवामा प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले सर्वपक्षीय भेला बोलाएर सद्भाव कायम राख्न अपिल गरेको थियो ।
प्रतिक्रिया