जी–२० मुलुकद्वारा चीनलाई चुनौती दिने गरी भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोरको घोषणा

घोषणापत्रको भाषाप्रति युक्रेनको आपत्ति

जी–२० सम्मेलनमा सहभागी देशहरु लिडर्स घोषणापत्रमा सहमत भएका छन् । सम्मेलनका क्रममा भारतले चीनको बीरआरआईलाई चुनौती दिने गरी भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर घोषणासमेत गरेको छ । रुस र चीनका राष्ट्रप्रमुख सहभागी नभएको सम्मेलनले दुबै देशलाई नचिढ्याउने गरी रुस–युक्रेन युद्धबारे नरम भाषा प्रयोग गरी घोषणा पत्रमा सबै देशलाई सहमत गराउन भारत सफल भएको हो । युरोपेली मुलक र अमेरिकाले युक्रेनविरुद्ध आक्रमण गरेको भन्दै रुसको कडा आलोचना गर्नुपर्ने बताएका थिए । तर त्यसलाई उल्लेख नगरी कारण मध्यमार्गी बाटो पहिल्याएको र घोषणापत्र स्वीकार गर्न बैठकमा गरिएको प्रस्तावलाई सहभागी सबै सदस्य राष्ट्रहरुले समर्थन गरेका हुन । घोषणा पत्रमा रुसको नाम नलिई कुनै देशविरुद्ध परमाणु हतियारको धम्की वा त्यसको प्रयोग अस्वीकार्य हुने उल्लेख छ । मोदीले सर्वसम्मति र मानोभावनाका साथ हामी एकजुट भएर राम्रो, अधिक समृद्ध र समन्वय भविष्यका लागि सहयोगका साथ काम गर्ने संकल्प जि ट्वान्टी मुलुकले गरेको मोदीले उल्लेख गरेका छन । यसैविच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने आर्थिक करिडोरको काम छिट्टै सुरु हुने बताएका छन् । यस अन्तर्गत सन्चार र भौतिक पूर्वाधारका काम हुने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडन, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युरोपेली आयोगका प्रमुख उर्सला वान डेर लियेनको उपस्थितिमा आर्थिक करिडोर घोषणा भएको हो । नयाँदिल्ली सम्मेलनबाट अफ्रिकन युनियनलेसमेत यसको स्थायी सदस्यता पाएको छ । यसअघि जी–२० मा १९ देश र एक युरोपेली युनियन सदस्य थिए । अफ्रिकन युनियनसमेत थपिएपछि अब जी–२० मा १९ देश र दुई युनियन सदस्य बनेका छन् ।। 

युक्रेनको विरोध 

युक्रेनले जी–ट्वान्टीको संयुक्त वक्तव्यमा रुसलाई इंगित गरिएको भाषाको विरोध गरेको छ । युक्रेनको परराष्ट्र मन्त्रालयको प्रवक्ता ओलेग निकोलेन्कोले जी–ट्वान्टीको संयुक्त वक्तव्यलाई कुनै पनि गौरव गर्न नसकिने भनेका छन् । यो वक्तव्यले भौगोलिक अखण्डताको सम्मान गर्न सबै देशहरुलाई आग्रह गरेको छ तर गत वर्ष उल्लेख गरिएको रुस फिर्ता हुनुपर्ने माग भने राखेको छैन । किभले वक्तव्यमा रुस–युक्रेन युद्धबारे उल्लेख गरिएको प्रति विमति जनाएको हो । यो विषय जी–ट्वान्टीमा युक्रेन र रुस पक्षधर बीच र केही मुलुकहरु तटस्थ रहेकोले विवादित बनेको छ । जी–ट्वान्टी नेतृत्वबीच यो युद्धबारे फरक विचार र विश्लेषण गरिएको छ । तर अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न सबैलाई आग्रह गरिएको छ । रुसको नाम भने किटान गरिएको छैन । रुसी वार्ताकार स्भेटलाना लुकासले नयाँ दिल्लीमा पत्रकारहरुलाई बताए अनुसार मस्कोले यो घोषणापत्रलाई सन्तुलित भएको टिप्पणी गरेको जनाएकी छन् । उनले युक्रेन सम्बन्धी विषय सहमतिमा पुग्न अति गाह्रो वार्ता भएको स्वीकारेकी छन् । युक्रेनले जी–ट्वान्टी शिखर सम्मेलनको घोषणमा कुनै गर्व गर्न लायक विषय नसमेटिएको प्रतिक्रिया समेत दिएको छ ।। 
 

प्रतिक्रिया