सर्लाहीको मलंगवा तनावग्रस्त, भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा जारी, दुई पक्षबीच भएको झडपलाई मध्यनजर गरी सुरक्षा सतर्कता बढाइयो
काठमाडौं । सर्लाही सदरमुकाम मलंगवा तनावग्रस्त बनेको छ । शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि मलंगवाको अवस्था तनावग्रस्त बनेको हो । शनिबार बिहानैबाट सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुनथालेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा जारी गरेको जनाएको छ । प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ । कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्लामा सुरक्षा सतर्कता पनि बढाइएको छ । प्रदर्शन र ढुंगामुढाका कारण मलंगवाका पसल तथा बजार बन्द छ । आक्रोशित युवाहरुले आज पनि चोक चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । बिहानैदेखि मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न सकेका छैनन् ।
प्रतिक्रिया