रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) आठौँ पटक म्याद थपका लागि अदालत उपस्थित गरिइको छ । 

लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिएकाले आज उनलाई अदालतमा उपस्थित गरिएको हो । सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएकोले आज थप ४ दिनको म्याद थपको समय माग्ने तयारी गरिएको बताइएको छ । 

लामिछाने विरुद्ध पुस ५ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्ने गरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने भएकाले पुस ५ गते उनी विरुद्ध अभियोग पत्र दायर गर्न लागिएको हो । 

पूर्व डी.आई.जी. छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्ने भएकाले लामिछानेलाई पनि जोशी पक्राउ गरेको मिति बाट म्याद मिलाइएको छ । सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर भए पछि अदालत बाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्ने मध्ये एक आदेश आउने छ । 

लामिछानेलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश भए अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई हिरासतमै राख्न सक्ने छ ।  लामिछाने सहित गोर्खा मिडिया प्रा.लि.का पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्बल्सका सञ्चालक रामबहादुर खनाल, जिबी एन्ड ग्रुपकी कर्मचारी लीला पछाई र सहकारीका पूर्वसञ्चालक कृष्ण गुरुङ लगायत माथि अनुसन्धान गरी प्रतिवेदन प्रहरीले सोमबार बुझाएको छ । 

प्रतिवेदनमा लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । ६५ जना विरुद्ध अनुसन्धान गरेकोमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।  प्रतिवेदनमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ । 

प्रहरी प्रतिवेदनमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी लिन सुझाइएको छ । प्रहरीले प्रतिवादी बनाएका मध्ये ३७ जना अझै फरार छन् ।  
 

प्रतिक्रिया