म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो

म्याग्दी । मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचा बाट सुन्तला बिक्री हुन थाले पछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोल बस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ ।

उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थाले पछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय किसान कृष्ण शर्माले बताए । “अहिले काठमाडौंका व्यवसायीले बगैचा बाटै सुन्तला खरिद गरेर लगेका छन्, गाउँका सबै जसो बगानमा सुन्तला खरिदका लागि व्यवसायी आइपुगेका छन्’’, उनले भने ।

यहाँका किसानले प्रतिकिलो ६५ मा सुन्तला बिक्री गरेका छन् । शर्माले मात्रै यस वर्ष दुई लाख बढीको सुन्तला बिक्री गरेका छन् ।  उनका बगानमा एक सय बढी सुन्तलाका बोट छन् । गाउँमा मोटर बाटोको सुविधा पुगे पछि स्थानीयलाई सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हटेको हो । मोटर बाटो पुग्नु अघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजार सम्म पुर्‍याएर सुन्तला बिक्री गर्दै आएका थिए ।

पछिल्ला केही वर्षयता बगान बाट सुन्तला बिक्री हुन थाले पछि यहाँका किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । हरेक वर्ष सहरी क्षेत्र बाट व्यवसायी सुन्तला खरिदका लागि पेश्की रकम लिएर गाउँमा पुग्ने गरेका छन् । बिमको अर्कला, नराले, ओखलढुङ्गा, दुले, टुनीबोट, नौमाने, भारबाङ, खार लगायत क्षेत्रमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार भइरहेको छ ।

सुन्तलाखेती बाट आम्दानी राम्रो हुन थाले पछि अन्नबाली लगाउनुको साटो सुन्तलाखेती विस्तार गरेको स्थानीय भीमप्रसाद विकले बताए । “विदेश गएर दुःख गर्नु भन्दा आफ्नै गाउँमा सुन्तला रोप्न सक्यो भने त्यस बाट राम्रो आम्दानी गर्न सकिन्छ, उत्पादन भएको सुन्तलाको ग्राहक खोज्नुपर्ने बाध्यता पनि छैन, मैले यसै वर्ष थप नयाँ जग्गामा समेत सुन्तला विस्तार गर्ने योजना बनाएको छु”, उनले भने ।

यस क्षेत्रका किसानले सुन्तलाखेती बाट ५० हजार देखि आठ लाख सम्म कमाई गरेका छन्भने गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्रने गरेको छ । जिल्लामा उत्पादन भएको सुन्तला पोखरा, काठमाडौं बुटवल, भैरवा लगायत ठूला शहरमा खपत हुने गरेको छ । व्यावसायिक सुन्तलाखेती भएका अधिकांश बगौचामा खरिदकर्ता आफैँ पुग्न थाले पछि किसानलाई सुन्तलाको बजार अभाव नहुने र ढुवानी लगायत झन्झट पनि हटेको छ । 
रासस 

प्रतिक्रिया