पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भाउ घट्यो
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । निगमले डिजेल र मट्टितेलको भाउ भने प्रतिलिटर दुई रूपैयाँले घटाइएको छ । योसँगै काठमाडौं, पोखरा र दीपायल डिपोअन्तर्गतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ । यसैगरी सुर्खेत र दाङ डिपोअन्तर्गतका क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको निगमले जनाएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल १५९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।।
प्रतिक्रिया