ज्यापू दिवस देशभरिका किसानको दिवस : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले ज्यापू दिवस काठमाडौं उपत्यकाका नेवार समुदायको मात्र नभई देशभरिका किसानको दिवसका रूपमा रहेको बताएका छन् ।

ज्यापू संस्कृति विकास कोषद्वारा आज आइतबार  वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापू दिवस समारोहमा उनले नयाँ बाली भित्र्याइसकेपछि त्यसको चामलबाट नै योमरी बनाउने गरिएकाले यो दिवस सबै किसानको दिवस रहेको बताए ।उपप्रधानमन्त्री सिंहले हाम्रो समाजमा परिश्रम गर्नेलाई तल्लो तहबाट हेर्ने गरेकामा त्यसलाई परिवर्तन गर्नुपर्ने बताए ।

“श्रम र परिश्रम गर्नेको कदर गरेनौँ भने विकास निर्माण हुँदैन । आजको दिवसमा खेतमा परिश्रम गरेर सबैलाई खाद्यान्न पुर्‍याउने परिश्रमीलाई सम्मान गर्नुपर्दछ”, उनले भने । मन्त्री सिंहले ज्यापू दिवसलाई व्यवस्थित बनाउन एउटा स्थायी कोष स्थापना गर्नुपर्नेमा जोड दिँदै पुर्खाले सिकाएको संस्कृति र चाडपर्वलाई निरन्तरता दिनुपर्ने बताए । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले योमरी कृषि सभ्यताको प्रतीक रहेको बताए ।

उनले भाषा, संस्कृति रहनसहन, खानपान, वेशभूषा र परम्परा रहेको नेवार समुदायजस्तो विश्वमा अन्य समुदाय नभएको बताए । काठमाडौंंं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाल विभिन्न संस्कृतिको देश भएको बताइन् । उनिले नेपालमा मनाइने विभिन्न जात्राहरूले मुलुकको सांस्कृतिक महत्वलाई उजागर मात्र नगरेर देशको पहिचान बोकेको बताइन् । उपप्रमुख डङ्गोलले मुलुकको आर्थिक क्रान्ति ल्याउन पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिइन् ।  

प्रतिक्रिया