गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

नवलपरासी ।  पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुस्ता गाउँपालिका–२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई पक्राउ गरेको थियो ।

उनीहरू साथीभाइ रहेको र सामान्य आवेगमा घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ । वेल्डिङको काम गर्दै आएका उनीहरूले आफैँले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल बनाएका थिए ।

सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि गोली प्रहार गरी भागेको बताइएको छ । उनीहरूका साथबाट प्रहरीले स्थानीयस्तरमा उत्पादन गरिएको पेस्तोल एक थान, २८ थान छर्रा, १२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ ।

पेस्तोल बनाउन आवश्यक सामग्रीहरू सीमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याएको पाइएको छ । पक्राउ परेकाहरू माथि कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

प्रतिक्रिया