रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध छैन : गृहमन्त्री लेखक
सरकारले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयन गरेको
चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए ।
संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने गृहमन्त्री लेखकको भनाई छ ।
सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको बताउँदै मन्त्री लेखकले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयन सरकारले गरेको बताए । कानुनी रूपमा अनुसन्धान सुरू गरिएको बताउँदै गृहमन्त्री लेखकले कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्नु हो, त्यस्तो हुनु हुँदैन भने ।
सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै गृहमन्त्री लेखकले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताए ।
प्रतिक्रिया