कुखुरा पालेर मासिक १ लाख ५० हजार बचत

बागलुङ । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा ५० हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक १ लाख ५० हजार बचत गर्दै आएका छन् । 

स्थानीय ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्म बाट दैनिक ५ हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार बसेर फर्केका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए । 

“३ हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप २ हजारले अण्डा दिन शुरु गरेका छन्, दैनिक ५ हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भने ।  १ करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र ४ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । फार्मको कमाइ बाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक १ लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताए । 

अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिर बाट आउने अण्डाका कारण  मूल्य भने अस्थिर हुने गरेको उनले बताए । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । कुखुरापालन भन्दा गाईबाख्रा पाल्न सहज हुने उनको अनुभव छ । त्यसैले अब उहाँ व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा छन् । 
रासस 

प्रतिक्रिया