मुद्दा मिलाइदिन भन्दै लाखौँ रुपैयाँ बोकेर अख्तियार पुगेका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
काठमाडौं । अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा शुक्रबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
उनी मेल्लेखमा कार्यरत हुँदा मेसिनरी सामान खरिदमा आर्थिक अनियमितता गरेको भन्दै यहि मंसिर १० गते अख्तियारमा उजुरी परेको थियो ।
सोहि उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपूरबाट अनुसन्धानको टोली गएर स्थलगत मुचुल्का र आरोपीहरुको बयानसमेत लिइएको थियो ।
अनुसन्धानमा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भन्दै शुक्रबार (हिजो) सापकोटा अख्तियारको कार्यालय कञ्चनपूरमा अनुसन्धान अधिकृतको कार्यकक्षमा कागजात सहितको खाम लिएर गएका थिए ।
अनुसन्धान अधिकृतले उक्त खाम आफैं खोल्नुस भनेपछि सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र १ लाख रुपैयाँ भेटिएको थियो ।
ती अनुसन्धान अधिकृतले यो के हो? भनेर प्रश्न गर्दा, मुद्दा मिलाइदिन भनि स्वेच्छाले ल्याएको सापकोटाले भनेका थिए ।
तत् पश्चात सापकोटाले घुस दिने उदेश्यले १ लाख रुपैयाँ ल्याएको भन्दै उक्त रकम सहित सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगको कार्यालय, कञ्चनपूरले जानकारी दिएको छ ।
हाल उनी नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत छन् ।
प्रतिक्रिया