चीनको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएकोमा सांसदहरुको आपत्ति

नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको परराष्ट्रमन्त्रीको भनाइ

सांसदहरुले छिमेकी मुलक चीनले आधिकारिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटेकोमा आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पूर्वप्रधानमन्त्री अध्यक्ष माधव नेपालले नेपालले जारी गरेको चुच्चे नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताए । अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रुपमा, कसरी गराइएको हो तत्कालिन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । 
बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने छुट कुनै पनि कूटनीतिज्ञहरूलाई नभएको बताए ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह र रास्वपाका सांसद शिशिर खनालले नक्साको मुद्दा अत्यन्तै सम्वेदनशील रहेको बताए । 
नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्री राष्ट्रसंघवाट सिधै चीन जान नमिल्ने तर्क गरे । चुच्चे नक्साको जानकारीका लागि पत्र नपठाएको विषयमा तत्कालीन प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने सांसद सुवालले बताए ।
छलफलमा परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताए । 
प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेपछि चीनलाई त्यसबारे पत्राचार गरेको नपाइएको जानकारी दिएका हुन । मन्त्री साउदले नयाँ नक्सा नसमेटिएको विषयमा चीनलाई कूटनैतिक नोट भने पठाएको जानकारी दिए । 
 

प्रतिक्रिया