लुटपाट, कर्मचारी र औषधिको अभावले सिरियामा केही स्वास्थ्य सेवा बन्द

एजेन्सी । संयुक्त राष्ट्र सङ्घले लुटपाट, कर्मचारी र औषधिको अभावले सिरियामा केही स्वास्थ्य सेवा बन्द गर्न बाध्य भएको जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओ.सी.एच.ए.) ले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूलाई अहिले मानवीय सहायता पुर्‍याउन निकै गाह्रो भएको बताएका छन् । 

ठाउँठाउँमा संयुक्त राष्ट्रसङ्घका सहायता भण्डारणहरू लुटिएका, आक्रमणमा परेका, धम्कीका कारण कर्मचारी काममा जान छाडेका विज्ञप्तिमा उल्लेख छ । तर, ठूला जोखिम र अभाव सहेरै भए पनि कतिपय ठाउँमा सेवा जारी राखेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

उत्तर–पूर्वी सिरियामा स्वास्थ्य साझेदारहरूले २० वटा भन्दा धेरै मोबाइल मेडिकल युनिट सक्रिय पारेका छन् । यस्तै उत्तर–पश्चिममा ३० वटा मोबाइल मेडिकल टिमले आधारभूत स्वास्थ्य सेवा, खोप र मातृ हेरचाह प्रदान गरिरहेका छन् । यी टिमले विस्थापित मानिसहरूलाई खाना, पाल, जाडोको लुगा, स्वच्छता किट र नगदसहितका सहायता प्रदान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी (यू.एन.एच.सी.आर.) ले हजारौं सिरियाली शरणार्थी लेबनान बाट मस्ना सीमा विन्दु र अन्य सीमा पार गरेर इदलिब, ग्रामीण दमास्कस, दमास्कस, दारा, अलेप्पो र अन्य ठाउँहरूमा फर्कन थालेका जनाएको छ । 

यस्तै, टर्की बाट पनि सिरियालीहरू आफ्नो देशमा फर्किएका छन् । शरणार्थीहरू स्वदेशमा फर्किन थाले सँगै थप सहायताको खाँचो बढेको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया