अमेरिकी राष्ट्रपति जो बाइडेन आज भारत आउदै, दिल्लीको सुरक्षा व्यवस्था कडा

संसारका ठूला देशहरुको संगठन जी–२० को शिखर सम्मेलन हिजोदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा भारत लिन अमेरिकी राष्ट्रपति जो बाइडेन आज नयाँ दिल्ली पुग्दैछन । दिल्लीको बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङ अनुपस्थित रहनेछन् । त्यस्तै, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि भारत नआउने सार्वजनिक भइसकेको छ । दुई जना शक्तिशाली नेताहरू एकै पटक अनुपस्थित रहने खबरले जी–२० को बैठकलाई खल्लो बनाएको विश्लेषण गरिएको छ । चीनका तर्फबाट प्रधानमन्त्री ली चियाङ र रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लावरोभले बैठकमा प्रतिनिधित्व गर्नेछन् । सम्मेलनका सन्दर्भमा दिल्लीको मेट्रो, बस र रेलवे स्टेशनहरूमा सुरक्षा कडा पारिएको छ । यस अवधिमा सर्वसाधारणले मेट्रोदेखि सडकसम्म धेरै प्रतिबन्धको सामना गर्नुपर्ने बताइएको छ । धेरै रेलहरूको रुटमा परिवर्तन गरिएको छ भने २ सय भन्दा बढी रेलहरु बन्द हुने भएका छन् । ९,१० र ११ सेप्टेम्बरमा कुल २ सय ७ रेल सेवाहरू रद्द गरिएको छ । मानिसहरूलाई अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन भनिएको छ । नयाँ दिल्लीमा बसोबास गर्ने मानिसहरूलाई आफ्नो पहिचान प्रमाणित गरेपछि आवतजावत गर्न अनुमति दिइने व्यवस्था गरिएको छ । यसैविच चीनले जी–२० को आधिकारिक दस्ताबेजमा संस्कृत सूक्ति ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति आपत्ति जनाएको छ ।संस्कृत गैरसंयुक्त राष्ट्र भाषा भएको भन्दै चीनले आपत्ति व्यक्त गरेको हो । रूस र युक्रेनको युद्धको मुद्दालाई लिएर जी–२० का सदस्य राष्ट्रहरू ध्रुवीकृत रहेका बेला नाराको विषयमा पनि भारत र चीनबीच मतभेद देखिएको हो । ‘रुस–युक्रेन’को विषयले शिखर सम्मेलनपछि जारी हुने साझा वक्तव्यमा सहमति जुटाउन आयोजक राष्ट्र भारतलाई मुस्किल पर्ने देखिएको छ । जि ट्वान्टीमा युरोपेनियन युनियन र १९ देश सदस्य छन् । 
 

प्रतिक्रिया