राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुप बीच समझदारी

चीन । राष्ट्रिय फोटोपत्रकार समूह (एन.एफ.पि.जे. नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुप बीच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने समझदारी भएको छ । एन.एफ.पि.जे.का अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन बीच आज(शुक्रबार) उक्त समझदारीपत्र आदानप्रदान भएको हो ।

समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुप बीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यावसायिक क्षमता विकासका लागि सहकार्य गर्ने उल्लेख छ । 

समझदारी पत्र आदानप्रदान कार्यक्रममा विन्जाओका मिडिया ग्रुपका निर्देशक जिङ्युआनले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउस बीच समझदारी गर्न पाउँदा खुसी लागेको बताए । उनले यस्ता समझदारीले समाचारका माध्यम बाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पुर्‍याउनमा महत्वपूर्ण  भूमिका खेल्ने र दुवै देश बीच भएको मिडिया सम्बन्धी सम्झौतालाई पनि सहयोग पुग्ने उल्लेख गरे ।

एन.एफ.पि.जे.का अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुप सँग गरिएको समभदारीले फोटो तथा समाचारको माध्यम बाट दुई संस्थाको मित्रतालाई स्थापित गर्न सहयोग पुग्नुका साथै दुई देशबिचको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय मिडिया हाउस सँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।  

उक्त  कार्यक्रममा विन्जाओ फोटोग्राफर एशोसियशनका अध्यक्ष लिइ जनपिङ्  उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एन.एफ.पि.जे.का उपाध्यक्ष सुनिल शर्मा लगायत नेपाल बाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय फोटोपत्रकार समूहलाई विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओले रेडियो सङ्गहालय र टेलिभिजन प्रसारणको अवलोकन गराएका थिए ।
 
विन्जाओ मिडिया ग्रुप विन्जाओकै सबै भन्दा ठूलो मिडिया हाउस हो । यसले पत्रिका, रेडियो, टेलिभिजन, वेबसाइट र मोबाइल एप मार्फत समाचार सङ्कलन, वितरण तथा प्रसारण गर्दै आएको छ ।
रासस 
 

प्रतिक्रिया