डिन र क्याम्पस प्रमुख नियुक्तिमा हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्तिमा आफूले हस्तक्षेप नगरेको बताएका छन् । बिहीबार त्रिविको सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘के भएर डिन नियुक्तिमा विलम्ब भयो ? नाम निकाल्नुहोस्, ‘प्रधानमन्त्री ओलीले भने, ‘मेरिटोक्रेसीमा प्रश्न नउठोस् । निष्पक्ष ढंगले काम होस् । मबाट हस्तक्षेप भएको छैन । तर, मेरो नाम आउँछ । अरू के भयो थाहा छैन । मेरोबाट विलम्ब भएको छैन ।’

प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीबाट डिन र क्याम्पस प्रमुख नियुक्त गर्न त्रिवि नेतृत्वलाई निर्देशन दिए ।

‘नियुक्ति साँच्चिकै मेरिटोक्रेसीबाट हुनुपर्छ । एउटा समिति बनाएर मात्र मेरिटोक्रेसी हुँदैन,’ उनले भने । नियुक्तिमा आफूले हस्तक्षेप नगरेको उनले बाताए ।

‘कुलपतिले हस्तक्षेप गर्‍यो भनिन्छ । प्रधानमन्त्रीलाई गाली नगरी हुँदैन,’ उनले भने,  ‘हस्तक्षेप हुँदैन । हस्तक्षेप होइन संस्थाले निर्णय गर्छ ।’

आफूले गर्न पाए हुन्थ्यो भन्नू स्वायत्तता नभएको उनले बताए । डिनको नाम निकाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

आगामी ७ पुसभित्र डिन नियुक्ति गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । ‘७ पुसमा बस्ने अनौपचारिक सभामा नयाँ डिन लिएर आउनू,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया