एमाले लुम्विनीको अध्यक्षमा राधाकृष्ण कंडेल बिजयी

महासचिव पोखरेल निकट हरि रिजाल दुई मतले पराजित

नेकपा एमालेको लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । आज बिहान ५ बजे सम्पन्न मतगणनामा प्यूठानका हरिप्रसाद रिजाललाई २ मतले हराउँदै कँडेल विजयी भएका हुन् । निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीका अनुसार कँडेलले ४ सय ७९ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै रिजालले ४ सय ७७ मत प्राप्त गरे । मंगलबार दिउँसो भएको निर्वाचनमा प्रदेशका १ हजार ५ प्रतिनिधि मध्ये ९ सय ६५ जनाले मतदान गरेका थिए । अध्यक्ष कँडेलसँगै उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढामगर र महिला उपसचिवमा बर्दियाकी लिला राना मगर निर्वाचित भएकी छन् । सचिव पदमा यसअघि नै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । निर्वाचितमध्ये पुरुष उपसचिवमा निर्वाचित रोल्पाका बुढामगर मात्र रिजाल प्यानलका हुन् । उपसचिव खुलामा बुढामगर ४ सय १८ मत र महिला उपसचिवमा रानामगर ३ सय ५२ मत ल्याएर विजयी भएकी हुन् । यस्तै लेखा समिति अध्यक्षमा कँडेल समूहकै दामोदर घिमिरे विजयी भएका छन् । लेखा समितिको उपाध्यक्षमा बैकुण्ठ महत निर्विरोध निर्वचित भएका थिए । मंगलबार नेकपा एमालेको प्रथम लुम्बिनी अधिवेशनबाट पदाधिकारीमा सचिव आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । 
 

प्रतिक्रिया