ब्राजिलको दक्षिणी क्षेत्रमा समुद्री आँधीका कारण भीषण वर्षा र बाढी

ब्राजिलको दक्षिणी क्षेत्रमा शक्तिशाली समुद्री आँधीका कारण भीषण वर्षा र बाढी आउँदा २१ जनाको मृत्यु भएको छ । बाढीको पानी घट्दै जाने क्रममा थप शवहरु प्राप्त हुन सक्ने आशंका गरिएको छ । सयौँ मानिस विस्थापित भएका छन् । मंगलबार तटीय क्षेत्रमा ठोक्किएको उक्त आँधीका कारण देशको दक्षिणी राज्य रियो ग्रयाण्ड डो सुल सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । गर्भनर एडुआर्डो लेटेले राज्यका करिब ६० वटा सहर आँधी र बाढीले प्रभावित भएको जानकारी दिएका छन् । त्यस्तै सान्टा क्याटारिनामा थप एक जनाले ज्यान गुमाएका छन । जलवायु परिवर्तनका कारण ब्राजिलमा यो वर्ष भएका चरम मौसमी घटनामध्ये यो एक भएको बताइएको छ । गत जुनमा दक्षिणी ब्राजिलमा आएको समुद्री आँधीमा परी १३ जनाको मृत्यु भएको थियो । फेब्रुअरीमा मुसलधारे वर्षा, बाढी र पहिरोमा परी साउ पाउलो राज्यमा ६५ जनाले ज्यान गुमाएका थिए । 
 

प्रतिक्रिया