रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज (बिहीबार) कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । 

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । 

रवि बारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ । एक दुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । रवि विरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने बताइएको छ । 
.
संसदीय छानबिन समितिले प्रतिवेदन बुझाए पछि सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा लगेर अपचलन गरेको आरोपमा सबै भन्दा पहिले पूर्व डी.आई.जी. छविलाल जोशी पक्राउ परेका थिए । उनी असोज ६ गते पक्राउ परेका हुन् । 

प्रहरीले उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिन भित्र मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्दछ । जोशी पक्राउ परेको दिन बाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया