वीरगञ्ज बाट डिजेल आयात घट्यो
पर्सा । वीरगञ्ज बाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम ४ महिनामा डिजेलको आयात ९ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
डिजेल आयात घटे सँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा २१ अर्ब ८४ करोड ८ लाख ७६ हजारको २ लाख ४६ हजार ७ सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा भने ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताए ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्कर बाट नै पैठारी हुँदै आएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आर्थिक वर्षको कात्तिक महिना सम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने, “सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।”
त्यसैगरी, चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको १ लाख ४२ हजार ८ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्ष को सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको १ लाख २९ हजार १ सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।
रासस
प्रतिक्रिया