एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आज(बिहीबार) पनि बस्दैछ । 

बुधबार देखि शुुरु भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष नेपालले नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदल सम्बन्धी निर्णय लिन, मुलुकमा पछिल्लो समय विकासित राजनीतिक अवस्था लगायत विषयमा जानकारी गराएका थिए । 

राजनीतिक प्रतिवेदनमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा गरिएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रभाव बारे उल्लेख गरिएको छ । वैज्ञानिक समाजवाद कार्यान्वयनका लागि राष्ट्रिय पुँजीको सञ्चय, आर्थिक रूपान्तरणका लागि पुँजी परिचालन, औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने विषय प्रतिवेदनमा समावेश गरिएका छन् । 

देशभर पार्टीको सङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन बारे समीक्षा, आगामी दिनमा पार्टीले निर्वाह गर्ने भूमिका बारे छलफल गरिएको छ । बैठकले पार्टी सङ्गठनलाई सुदृढीकरण गर्न भावी कार्यदिशा तय गर्नेछ । 

नेताको कार्यविभाजन अन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्न पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित कार्यदलले आजको बैठकमा नामावली प्रस्तुत गर्ने र सोही बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

प्रतिक्रिया