एन.पि.एल. : आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पि.एल.)मा आज(बिहीबार पनि दुई खेल हुँदैछन् ।
पहिलो खेल बिहान ९ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्स बीच हुनेछ भने दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्स भिड्नेछन् ।
कीर्तिपुर स्थित टियू मैदानमा हुने पहिलो खेल दुवै टोलीका लागि आज महत्वपूर्ण छ र प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने आवश्यकता छ । चार खेल खेलिसक्कदा पोखरा र विराटनगरले समान १ खेल जित्दै २ अंक मात्र जोडेका छन् भने तीन खेलमा पराजित भएका छन् ।
यस्तै, त्रि.वि. क्रिकेट मैदानमा आज हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज खेल्दै छन् । जनकपुरको कप्तानी अनिल शाहले तथा काठमाडौं कप्तानी करण केसीले गर्नेछन् । जनकपुरले सुरूवाती चार वटा खेल जितेर प्रतियोगितामा शानदार प्रदर्शन गरिरहँदा बुधबार भने ५१ रनमा अलआउट हुँदै पहिलो हार व्यहोर्यो । उक्त हार पछि शुरूवात देखि अंकतालिकाको शीर्षस्थानमा रहेको जनकपुर दोस्रो स्थानमा झरेको छ । यद्यपी प्लेअफमा पुग्ने सम्भावना भने अझै बलियो छ ।
यसअघि बुधबारको खेलमा लुम्बिनी लायन्सको यात्रा लिग चरणमै रोकिएको छ । बुधबार भएको खेलमा काठमाडौं सँग १८ रनले पराजित हुँदा लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनेको हो । यसअघि लगातार ४ खेलमा पराजित भएको लुम्बिनीले मंगलबार चितवन राइनोजलाई पराजित गरेको थियो । लुम्बिनी जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, र विराटनगर किंग्स सँग पराजित भएको थियो ।
बुधबार नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । ८ अंकसहित सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा छ भने ८ अंक भएको जनकपुर बोल्ट्स दोस्रो स्थानमा छ । ६ अंक सहित चितवन राइनोज तेस्रो र समान अंक भएको कर्णाली चौथो स्थानमा छ ।
प्रतिक्रिया