रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै
बागलुङ । बागलुङ नगरपालिकामा सबै भन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजार बाट १९ किलोमिटर टाढा रहेको छ ।
हाल यहाँको बस्ती–बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पुर्याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ । हाल १९ कि.मी. सडक पक्की बनाउन दुई चरणमा ठेक्का मार्फत ४० करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो । अदालत—चौपारी–गौँडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा बरेङ शान्तिपुर सडक अन्र्तगत हाल रायडाँडा सम्म सडक कालोपत्रका लागि स्तरोन्नतिका काम हुँदैछन् ।
पहिलो चरणमा छ महिना अघि देखि ३० करोड लागतमा भकुण्डे सम्म १५ कि.मी. सडक र हाल भकुण्डे खण्डको चार कि.मी.मा काम शुरु भएको छ । यस्तै, दोस्रो चरणमा भकुण्डेको शौर्य देखि बागलुङ नगरपालिका–११ रायडाँडाको वडा कार्यालय सम्म चार कि.मि. सडक स्तरोन्नतीका लागि १० करोड लागतमा ठेक्का सम्झौता निर्माण व्यवसायी काममा फर्केको छ । छिट्टै रायडाँडाका सडक बन्ने बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले गति लिएको र दुवै खण्डमा सडक स्तरोन्नति भए रायडाँडा जस्तो विकट गाउँमा विकासले गति लिने अपेक्षा गरिएको उनको भनाइ छ ।
“बागलुङ बजार देखि तित्याङ हुँदै भकुण्डे सम्मको १५ कि.मी. सडकमा बिडारी निर्माण सेवाले काम गरिरहेको छ भने भकुण्डे देखि रायडाँडा सम्मको चार कि.मि. सडकमा एटलान्टिक निर्माण सेवाले हालै सम्झौता गरेर सडक चौडा पार्ने काम सुरु गरेको छ”, वडाध्यक्ष गौतमले भने, “बागलुङ नगरपालिकाको विकट गाउँमा पक्की सडक पुग्नु यहाँका लागि गौरवको विषय हो ।”
बहुवर्षीय आयोजना अन्र्तगत दोस्रो खण्डमा गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय अन्र्तगत काम भइरहेको छ । वैशाख देखि काम शुरु गरेका निर्माण व्यवसायीले तित्याङ खण्डमा छ किमी सडक चौडा बनाइसकेको छ भने बागलुङ बजारको अदालत चौपारी देखि सडक चौडा पार्ने, ग्याबिन लगाउने र कल्भर्ट निर्माण गर्ने काम भइरहेको बिडारी निर्माण सेवाका सञ्चालक धु्रब बिडारीले जानकारी दिए ।
आर्थिक वर्ष २०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नति सहित कालोपत्र सम्पन्न गर्न सम्झौता भएकामा सडकको पहिलो खण्डमा हाल कामले गति लिएको छ । ट्रयाक खोलेको २० वर्ष सम्म स्तरोन्नति हुन नसकेको सडक कालोपत्रका लागि पूर्वाधारको काम हुँदा स्थानीय पनि उत्साहित भएका छन् । स्थानीय चन्द्रप्रकाश शर्माले सडक स्तरोन्नतिले पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई सहज भई अन्य विकासमा पनि सकारात्मक प्रभाव पर्ने उनले बताए । सडकको पहुँच, विकासका गति विधि बढ्न थाले पछि यहाँ बाट बसाइँसराइ रोकिने शर्माले आशा व्यक्त गरे ।
प्रतिक्रिया