हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एका बिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्छन् । चालिस किलोमिटर साइकल चढेर दैनिक जसो गाउँ, शहर बजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो । 

यही काम बाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए । साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउछन् । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब एक हजार जति आम्दानी हुने गरेको सुनाए । 

“बिहानको नास्ता गरेर घर बाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु”, उनले भने । रानाले कहिलेकाही धनगढी देखि महेन्द्रनगर बजार सम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए । 

खाना खर्च कटाएर दैनिक सात सय जति बचत हुने गरेको उनी बताउछन् । सान लगाउनेकार्य रानाले २० वर्षकै उमेर देखि गर्दै आएका हुन् । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताए । स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसै बाट आउने आम्दानी बाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ । “घरखर्च यसै बाट आएको कमाईले धानिदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रम अन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यस बाटै आएको कमाइले गरिरहेको छु”, उनले भने,“पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेको छ । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।” 

विसं २०५८ सालमा श्रीमतीको देहावसान भए पछि आमाको भूमिका सहित आफैँले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए । “कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिले देखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु”, उनी भन्छन्,“अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ । बुढेसकाल लागे पनि पहिले देखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाए पछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्र्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन ।” 

रानाले चक्कु, हसिया, चुलेसी लगायतमा धार लगाय वाफत २०, खुकुरी, बञ्चरोमा धार लगाय वापत ५० र तरबारको एक सय रुपैयाँ ज्याला  लिने गरेका छन् । पहिला महिनाको ३० हजार सम्म पनि कमाइ हुने गरे पनि साइकल टाढा सम्म चलाउन नसक्ने भएकाले १५ हजार देखि २० हजार सम्म कमाई हुने गरेको उनले जानकारी दिए । “बसेर भन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारी सँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु”, रानाले खुसी हुँदै भने । 
रासस 

प्रतिक्रिया