एन.पि.एल. क्रिकेट : आज सुदूरपश्चिम र जनकपुर तथा काठमाडौं र लुम्बिनी खेल्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पि.एल.) मा आज (बुधबार) दुई खेल हुने भएका छन् ।
आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिडदैछन भने दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । त्रि.वि.क्रिकेट मैदान कीर्तिपुरमा जारी पाँचौँ खेलमा सुदूरपश्चिम विरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्स जित सहित प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा हुनेछ ।
उक्त खेल बिहान ९ बजे देखि शुुरु हुनेछ । प्रतियोगिताको एक मात्र अपराजित जनकपुरले यस अघिका चार मध्ये चारै खेलमा जित निकालेको छ । आजको खेलमा सुदूपश्चिम विरुद्ध जित निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ ।
चार खेलबाट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ । यता, चार मध्ये तीन खेलमा जित निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जितसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।
चार खेल बाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । प्रतियोगितामा जनकपुरले चार मध्ये तीन खेलमा लक्ष्य पछ्याउँदा जित निकालेको थियो । यता, सुदूरपश्चिमले भने जितका तीन वटै खेलमा टोलीले प्रस्तुत गरेको लक्ष्य रक्षा गरेको छ ।
यस्तै, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको दोस्रो खेल दिउँसो १ बजे शुरु हुनेछ । उक्त खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । काठमाडौंको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् ।
अंकतालिकामा काठमाडौं ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ । त्यस्तै, लुम्बिनी ५ खेलमा समान २ अंक भएपनि नेटरनरेटका आधारमा पाँचौं स्थानमा छ ।
प्रतिक्रिया