त्रिशूली अस्पतालमा नाक, कान र घाटीको विशेषज्ञ सेवा उपलब्ध
नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा निःशुल्क गरिएको छ ।
एक सय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौं जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रुपमा सञ्चालन हुने गरी सेवा शुरु गरेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए। उनका अनुसार विशिष्टकृत सेवा विस्तारको क्रममा नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो ।
“नुवाकोट सहित रसुवा र धादिङका बिरामीलाई समेत सेवा दिँदै आएको प्रादेसिक सरकारी अस्पतालमा नाक, कान र घाटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै सेवा शुरु गरिएको छ”, उनले भने । “बहिरंग सेवा (ओ.पि.डी.) निःशुल्क गरिएको छ । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहुलियत शुल्कमा सेवा दिने योजना छ ।”
अहिले पाक्षिक रुपमा ओपिडी सेवा निःशुल्क सञ्चालनमा ल्याइएको हुँदा जाँचको क्रममा पहिचान भएका रोगका समस्याको शल्यक्रिया समेत समेत उपलब्ध गराउन लागिएको छ । निःशुल्क विशेषज्ञ सेवा अस्पतालको आन्तरिक स्रोत र माथिल्लो निकायको सहयोगमा सञ्चालनमा ल्याइएको हुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई न्यूनतम एवम् सहुलियत शुल्कमा सेवा दिन विशेषज्ञ चिकित्सक सँग सहमतिमा आवश्यक तयारी अघि बढाइएको छ ।
ओ.पि.डी. जाँच बाट पहिचान भएका मध्ये कानको जाली, टन्सिल, थाइराइड, नाकको हड्डी बाङ्गिएको र नाकमा मासु पलाएका लगायतका नाक, कान र घाटीको रोग सँग सम्बन्धित शल्यक्रिया सेवा समेत उपलब्ध गराउन लागिएको हुँदा बिरामीलाई काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य र आर्थिक रुपमा समेत सहुलियत हुने अस्पतालका निर्देशक डा. लामाको भनाइ छ ।
रासस
प्रतिक्रिया