ओलीले चीन भ्रमणमा सिन्को भाँचेनन्, मैले गरेकै समझदारीलाई फोटोकपी गरे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा सिन्को पनि नभाँचेको र आफैंले गरेको समझदारीलाई फोटोकपी गरेको बताएका छन् ।

मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई प्रधानमन्त्री ओलीले फोटोकपी गरेर प्रचार गरिरहेको दाबी गरेका हुुन् ।

‘चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलोपटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो । मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थियो,’ उनले भने ।

केपी ओलीले चीन गएर सिन्को पनि नभाँचेको अध्यक्ष दाहालको भनाइ छ ।

‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन । तैपनि मैले गरेका कामलाई उनले मान्यता दिए, त्यसका लागि उहाँलाई धन्यवाद छ,’ प्रचण्डले भने, ‘भारत र चीनसँग सन्तुलित सम्बन्ध दूरगामी थिए । मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ । मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ । ती सबै गतसाल गरिएका सहमति समझदारी हुन् ।’

प्रतिक्रिया