दुई पालिका जोड्न १० करोडमा पक्की पुल निर्माण शुरु

फाइल तस्विर

तनहुँ । तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण शुरु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ तल्लो डुम्रे स्थित चुँदीखोला माथि पक्की पुल निर्माण शुरु भएको हो । 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत यहाँ पुल निर्माण हुन लागेको छ । डुम्रे बेँसीसहर सडक अन्तर्गत बन्दीपुर–१ र भानु–१ भन्सार स्थित चुँदीखोला माथि रहेको पुलको वैकल्पिक मार्गका रुपमा यहाँ पुल निर्माण शुरु भएको हो । भन्सार स्थित उक्त पुल साँघुरो रहेका कारण यहाँ फराकिलो पुल निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

१० करोड १० लाख ९१ हजार १६६ को लागतमा पुल निर्माणका लागि सम्झौता भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । तिवारीका अनुसार पुल निर्माणका लागि एम.एस. आइ.एस.स. निर्माण सेवा सुर्खेत सँग विसं २०८१ असार १० गते सम्झौता भएको थियो । 

पुल निर्माणको काम विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको तिवारीले जनाए ।  पुल ४० मिटर लम्बाइको हुनेछ । हाल पुलको फाउण्डेसनको काम भइरहेको छ । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा २ करोड ३६ लाख ८२ हजार बजेट विनियोजन भएको छ । पुल निर्माणपश्चात आँबुखैरेनी तर्फ आउने सवारी साधन डुम्रेबजार नपुगी यहीँ बाट भन्सार हुँदै बँेसीशहर जान सक्नेछन् । 
रासस

प्रतिक्रिया