पर्सामा रवि लामिछानेको बयान शुरु
काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछानेको आज (मंगलबार) बाट पर्सामा पनि बयान शुरु भएको छ ।
पर्साको वीरगञ्ज स्थित सानो पाइला सहकारी संस्थाको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोपमा सोमबार बयान लिन लामिछानेलाई हवाइ मार्ग हुँदै पोखराबाट काठमाडौं हुँदै सोमबार पर्सा लगिएको थियो ।
पर्सा स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान शुरु भएको हो । यस अघि उनीसँग सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको छ । लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेका थिए ।
चितवन, रुपन्देही र काठमाडौं स्थित सरकारी वकिल कार्यालयमा रविको बयान लिने काम सम्पन्न भइसकेको छ । लामिछानेमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने यस अघि नै पर्सा लगेर बयान लिने काम भएको छ । लामिछानेमाथि काठमाडौं,पोखरा,रुपन्देही,चितवन र पर्साका सहकारीको बचत रकम अपचलन गरेको आरो छ ।
प्रतिक्रिया