रौतहटमा जीप दुर्घटना, चालक सहित एकै गाउँका आठ जनाको मृत्यु

बालबालिकासहित पाँच जना घाइते

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा स्कर्पियो जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । बालबालिकासहित पाँच जना घाइते छन् । चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको जीप अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा र ६२ वर्षीया फुलमन्ति देवी चमारको ज्यान गएको हो । त्यस्तै  ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय चालक श्रीकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । फुलमन्ति राम र चालकको उपचारको क्रममा र अन्यको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनामा दुई बालबालिकासहित घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जनालाई थप उपचारको लागि वीरगन्ज पठाइएको छ । माई मन्दिर दर्शन गरेर सिरहाको अर्नहा फर्कँदै गरेका दर्शनार्थी चढेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया