रवि लामिछानेलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीमाथि अनुसन्धान शुरु
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा प्रहरीका उच्च अधिकारीहरुसँग जानकारी लिँदै अनुसन्धान शुरु गरेको छ ।
सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेर हिरासतमा रहेका लामिछानेलाई चितवनबाट मध्येरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएको भन्दै परेको उजुरीको विषयमा आयोगले अनुसन्धान शुरु गरेको हो ।
घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक सहितको प्रहरी उच्च अधिकारीहरुसँग आयोगले जानकारी लिएको र कानुनी शासनको प्रत्याभूति सहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने आयोगले जनाएको छ ।
यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग समेत थप बुझ्नुपर्ने भएकाले अनुसन्धानलाई निरन्तर जारी राख्ने आयोगले बताएको छ ।
प्रतिक्रिया