रवि लामिछानेलाई पर्सा लगियो
काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि पर्सा पुर्याइएको छ ।
सहकारीको रकम अपचलनको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन पोखरा लगिएको थियो । लामिछानेलाई बुटवल, चितवन र काठमाडौंमा बयान गराई गत बिहिबार फेरी पोखरा लगिएको थियो ।
उनलाई आज भने बयानका लागि पर्सा पनि लगिएको हो ।सहकारीको बचत रकम अपचलन गरेर गोरखा मिडियामा लगानी गरेको आरोपमा गत कात्तिक २ गते लामिछानेलाइ पक्राउ गरिएको हो । पोखरा,काठमाडौं,रुपन्देही,चितवन र पर्साका सहकारीबाट रकम अपचलन गरेको आरोप उनीमाथि छ ।
लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं ल्याएर त्यसपछि सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो । सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
पर्साको वीरगञ्जस्थित हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र उनका फरार साझेदार गितेन्द्रबाबु राई (जीबी) सहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
प्रतिक्रिया