धौलीगंगा बाँध खोलियो, महाकाली छेउछाउमा सतर्कता अपनाउन आग्रह

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज खोलिएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध आज सोमबार बिहान ८ बजेदेखि मंगलबार बेलुकी ८ बजेसम्म खोलिने छ । बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह प्रशासनले गरेको छ । वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ । यो वर्ष यसअघि साउन ३२, साउन ६ र असार २६ गते बाँधको ढोका खोलिएको थियो । २०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रूपैयाँको क्षति भएको थियो । 
 

प्रतिक्रिया