अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच छलफल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त तथा निजी क्षेत्रमा लगानी परिचालन लगायतका विषयमा छलफल भएको हो ।
“नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानको विषयमा छलफल भयो । अमेरिकी सहयोगमा एम.सि.सी., युए.सए.आई.डि.लगायतका कार्यक्रमबाट सञ्चालित परियोजनाको कार्यान्वयनका सम्बन्धमा पनि छलफल भयो”, अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले भने ।
अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लुलाई आग्रह गरेका छन् ।
अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । लुले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी दिए ।
रासस
प्रतिक्रिया