एमसीसी कार्यान्वयनमा विवाद कायमै, परियोजना समयसीमा भित्रै सम्पन्न हुनेमा चुनौती

विवादै विवादका विच कार्यान्वयनको चरणमा प्रवेश गरेको अमेरिकी सहयोग परियोजना (एमसीसी) समय अवधि भित्रै सम्पन्न हुनेमा चुनौति देखिएको छ । पूर्वतयारी विना नै कार्यान्वयन चरणमा प्रवेश गरेको परियोजना समयमै सकिनेमा सरोकारवालाहरुले आशंका व्यक्त गरेका छन् । 
सरकारले सम्झौता गरेको ६ वर्षपछि र संसद्बाट अनुमोदन गरेको करिव डेढ वर्षपछि अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । विवादै विवादकाबीच एमसीसी कार्यान्वयनको पाँच वर्षे दिनगन्ती शुरु गरिएपनि  सफल कार्यान्वयनको पाटो भने निकै चुनौतिपूर्ण देखिन्छ । एमसीसी अन्तर्गत ३ सय १५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत आयोजना निर्माण रहेका छन् । तर, पूर्व तयारी  विना नै शुरु गरिएको सम्झौता तोकिएको समयमै सकिनेमा सरोकारवालाहरुले आशंका व्यक्त गरेका छन् । 
एमसीसी सम्झौतामा विद्युत प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने, विद्युत् नियमन आयोग ऐन लागू गर्नुपर्ने,  अन्तर्राष्ट्रिय प्रसारण लाइनका लागि नेपाल र भारत सरकारबीच कार्यसञ्चालन कार्ययोजना र प्रसारण लाइनसम्बन्धी सम्झौता गर्नुपर्ने लगायतका शर्तहरु रहेका छन् । तर, ति शर्तहरु मात्र नभइ प्रशारण लाइन र अन्य परियोजना  निर्माणका लागि आवश्यक रुख कटान, जग्गा अधिग्रहण लगायतका कामहरु हुन सकेको छैन । जसका कारण परियोजनाहरु समयसीमा भित्रै सम्पन्न हुनेमा चुनौति रहेको परराष्ट्रविद् बताउँछन् । 
गत भदौ १३ गतेबाट कार्यान्वयनमा आएको एमसीसी परियोजनाका कामहरु पाँच वर्ष अर्थात २०८५ साल भदौ १३ गतेभित्र सम्पन्न भइसक्नुपर्नेछ । आगामी पाँच वर्षभित्र परियोजना सम्पन्न नभए रकम फिर्ता नै हुने सम्झौतामा उल्लेख छ । तसर्थ  आयोजना समयमै सम्पन्न गर्नका लागि सरकार, विकास साझेदार, परामर्शदाता र निर्माण कम्पनीहरू संवेदनशिल हुनुपर्ने देखिन्छ ।
 

प्रतिक्रिया