नेपाल महिला टि ट्वान्टी विश्वकप छनोटको सेमिफाइलनमा

नेपालले एक खेल अगावै आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । मलेसियामा आज भएको चौथो खेलमा नौ विकेटले कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाल ग्लोबल क्वालिफायर्सको नजिकै पनि पुगेको छ । फाइनलमा पुगेमा नेपालले ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछ ।  कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १० दशमलब तीन ओभरमै मात्र १ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा ओपनर काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । ओपनर सीता रानामगर २३ बलमा १७ रनमा नटआउट रहिन् । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाएको थियो । कतारकी साची धडवालले सर्वाधिक २१, एलिना खानले १५ र एन्जिलेने मारेले १४ रनको योगदान दिए । नेपालकी इन्दू बर्माले ३ विकेट लिइन् । पूजा महतो र कविता जोशीले थप एक एक विकेट लिए । नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । युएईसँगको खेलले समूह विजेता र उपविजेता निर्धारण हुने सम्भावना छ । समूह ए को विजेताले समूह बीको उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ । समूह ए को उपविजेताले समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । फाइनल पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल महिला टि २० विश्वकप छनोट खेल्न पाउनेछन् । 
 

प्रतिक्रिया