लिदिखोलाको मोटरेबल पुल सञ्चालनमा
पर्वत । मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ ।
गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका हुन् । डिमुवा–राम्जा चित्रे सडकखण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा सात महिना अगावै गत भदौमा सम्पन्न भएको थियो ।
पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समय अगावै सम्पन्न गरेकामा निर्माण व्यावसायीको प्रशंसा गरेका छन् । मुलुकको विकास र समृद्धिका लागि सञ्चालित योजना समयमा नै सम्पन्न हुनुपर्ने उनको भनाइ छ । आफू मन्त्री भएपछि पहिलो समाचार सोही पुल निर्माण सम्पन्न भएको सुनेको बताउँदै दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताए र
चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडक निर्माणका चरणमा रहेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताए । पुल निर्माण सँगै लामो समय देखि नागरिकले पाउँदै आएको सास्ती हटेको उनको भनाइ छ ।
अठार महिनामा निर्माण सम्पन्न गर्ने गरी २०८० असोज २२ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिङ्गल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । २ करोड ५३ लाख लागतमा निर्मित पुल कस्तुरी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । पुलको भारबहन क्षमता ७० टन रहेको छ ।
अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासी बाट सहज वातावरण निर्माण भएकाले निर्धारित समय भन्दा छ महिना अगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिए ।
यो पुल निर्माण पछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं ११ पकुवा र वडा नंं १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण सम्पन्न भएर सवारी साधन सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
विगत वर्षहरूमा वर्षायाममा खोला बाट वारपार गर्न नसकेर यातायात सुविधा बाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्ष देखि सहज रूपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ । स्थानीय सडक पुल कार्यक्रम एल.आर.वि.पी. र प्रादेशिक सडक पुल सहयोग एकाइ पि.आर.वी. एस.यु. को प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । पुल उद्घाटनका क्रममा जग्गादाता तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।
रासस
प्रतिक्रिया