बालेन सचिवालयकाे स्पष्टीकरण : गृह मन्त्रालयको अनुमति लिइएको थियो, मेयर पत्नीलाई अनावश्यक केरकार गरियो

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को सचिवालयले सार्वजनिक विदाको दिन सरकारी गाडी प्रयोगको विषयमा स्पष्टीकरण दिएको छ। बालेनका स्वकीय सचिव भुपदेव शाहले विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयबाट सहमति लिएर जटिल अवस्थामा अस्पताल जान प्रयोग गरिएको बताएका छन्।

सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सबिना काफ्लेको स्वास्थ्यमा जटिलता देखिएपछि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा सरकारी सवारी प्रयोग गरिएको विज्ञप्तीमा उल्लेख छ। ‘सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र वहाँकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल जानुभएको थियो,’ विज्ञप्तीमा भनिएको छ।

स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् ट्राफिक प्रहरीले झनै आक्रामक व्यवहार देखाएको मेयरको सचिवालयको आरोप छ।

‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे। सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो,’ विज्ञप्तीमा उल्लेख छ।

प्रश्रव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय भएको बालेनको स्वकीय सचिवालयले उल्लेख गरेको छ ।

आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा समेत ट्राफिक प्रहरीले धम्की दिएको भन्दै मेयरको सचिवालयले सरकारी गाडी प्रयोगको विषयलाई गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यममार्फत् भ्रामक सूचना सम्प्रेषण गरेको आरोप लगाएको छ।

शनिबार राति फेसबुकमार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । उनले महानगरको गाडी कसले र किन रोकेको थियो भन्ने खुलाएका थिएनन् । उत्तेजक अभिव्यक्ति दिएको भन्दै बालेनको सार्वजनिक आलोचना भएपछि आइतबार उनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको छ ।

प्रतिक्रिया