हेलो सरकारको २४ घन्टे सेवा शुभारम्भ
जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन । आज हेलो सरकारको २४ घन्टे सेवा शुभारम्भ गर्दै उनले आफूहरुलाई महत्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जिवनका लागि महत्वपूर्ण हुने भन्दै त्यसालाई ख्याल गर्न आग्रह गरेका हुन । प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्व बोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताए ।
प्रधानमन्त्री दाहालले सार्वजनिक निकायहरुमा गुनासो सुनुवाई गर्ने संयन्त्र रहेपनि त्यसले जनताको मुहार उज्यालो बनाउन नसकेको बताए । जनताका गुनासो तथा जिज्ञासाहरुलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध नगराउने उनको भनाइ छ । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” पछिल्लो समय प्रभावकारी रुपमा सञ्चालनमा हुन सकेको थिएन । आईतवारदेखि २४ नै घण्टा सञ्चालनमा आएको हो । नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया