सरकारले संविधान दिवसलाइ भव्यतापूर्वक ३ दिन मनाउने

सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज  बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताएका छन् । तीन दिने कार्यक्रम अन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावलीलगायतका कार्यक्रम हुने तय भएको छ । त्यस्तै, असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघ संस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस मनाउने र साँझ दीप प्रज्ज्वलन गर्नेलगायतका कार्यक्रम हुनेछ । 
असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्ज्वलन गर्ने र विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यकाबाहिर पनि विविध कार्यक्रम हुने छ ।
 

प्रतिक्रिया