महिला टी–ट्वान्टी विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

आइसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गतको एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । अपराजित यात्रा कायम राख्ने क्रममा नेपालले आज विहान भुटानलाई ३ विकेटले पराजित गरेको हो । भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन जोडिन । कविता जोशीले ९ तथा सिता रानामगरले ८ रन बनाईन् । चार खेलाडी शुन्य रनमा आउट भएका थिए । भुटानका लागि अन्जुली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिईन् । अन्जु गुरुङ र सोनमले समान १÷१ विकेट लिईन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो ।  भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाइन । नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १÷१ विकेट लिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।  नेपाल चौथो खेलमा सोमबार कतारसँग भिड्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल भदौ २१ र फाइनल खेल २२ गते हुनेछ । प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।। 

प्रतिक्रिया