प्रदेशस्तरीय ३ वटा सडक समस्या ग्रस्त सूचीमा
दमौली । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण शुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट शुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालयले समस्या ग्रस्त आयोजनाका रूपमा सूचीकृत गरेको हो ।
आँबुखैरेनी–छिम्केश्वरी सडक, दुलेगौडा-हर्कपुर सडक र भानुमार्ग-चन्द्रावती पिलिगार्ग, कुन्छा-कालीमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा राखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।
निर्माण शुरू भएर लामो समय सम्म अलपत्र परेका ती सडक आयोजनालाई समस्या ग्रस्त आयोजनाका रूपमा सूचीकृत गरिएको उनले भने, ‘ती सडक योजना समयमै सम्पन्न भएनन् । त्यहीकारण यसलाई समस्याग्रस्त आयोजनाका रूपमा राखी निर्माण सम्पन्न गराउन लागिपरेका भनिएको छ । सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरेका छौँ ।’
आँबुखैरेनी–छिम्केश्वरी सडकको १६ किलोमिटर कालोपत्रको काम २०७६ साल मङ्सिर ६ गते देखि शुरू भएको थियो । उक्त सडकको म्याद २०८१ साल असोज २० गते सकिएको छ । उक्त खण्डमा हाल सम्म आठ किलोमिटर कालोपत्र सकिएको छ भने बाँकी काम हुनसकेको छैन ।
५१ करोड ८४ लाख ९० हजार ६ सय ९० लागत अनुमान गरिएको उक्त सडकको ठेक्का ३६ करोड ५ लाख ५० हजार ५ सय १५ मा लागेको थियो । सडक स्तरोन्नतिको ठेक्का एम.एस. शर्मा काष्ठमण्डप जे.भी.ले पाएको थियो । प्रमुख तिवारीका अनुसार निर्माण व्यवसायीलाई हाल सम्म ३० करोड २ लाख १ हजार ८ सय ६२ भुक्तानी भएको छ भने ६ करोड ३ लाख ४८ हजार ६ सय ५२ भुक्तानी बाँकी छ । चालु आर्थिक वर्षमा सडकका लागि १ करोड ५० लाख विनियोजन भएको छ ।
रासस
प्रतिक्रिया