उद्योग मन्त्री भण्डारी र भरतीय समकक्षी जोशी बीच भेटवार्ता
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रल्हाद जोशीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
नयाँ दिल्ली स्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड(बी.आइ.एस.) प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी आयातमा सहजीकरण गर्ने लगायत द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए ।
मन्त्री भण्डारीले सो क्रममा भारत बाट नेपाल भित्रिने अत्यावश्यक वस्तुको आयातमा सहजता प्रदान गर्न मन्त्री जोशीको ध्यानाकर्षण गराउँदै सहजिकरणका विषयमा सकारात्मक छलफल भएको भ्रमण टोलीमा सहभागी उद्योग मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए ।
यस्तै, मन्त्री भण्डारीले नेपाली उत्पादित वस्तुको भारत निकासीमा सहजीकरण तथा बजारीकरणका सम्बन्धमा पनि समकक्षी जोशीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड र नेपाल गुणस्तर तथा नापतौल विभाग बीच आवश्यक सहकार्यका विषयमा पनि छलफल भएको जनाइएको छ ।
रासस
प्रतिक्रिया