विद्युत् प्राधिकरणको जिन्सी शाखा बाट ७ करोडका सामान हरायो

बागमती । हेटौँडा स्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखा बाट ७ करोड  बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको  छ । 
    
विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा बाट हेटौँडा स्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीय स्तरमा गठन भएको छानबिन समितिले ७ करोड बराबरका सामान हराएको प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए । 

हेटौँडा स्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेख अनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो । 

“खरिद भएका सामानको अभिलेख छ, तर स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्”, महाशाखा प्रमुख झाले भने,–“अभिलेखमा भएका सामान कहाँ कहाँ छन् भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो, तर ७ करोड बराबरका सामान अझै गायब छन् ।” तत्कालीन शाखा प्रमुख लगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताए । 
रासस 

प्रतिक्रिया