फ्रान्सका प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव पारित

एजन्सी । फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियरको सरकार तीन महिनामै ढलेको छ । बुधबार संसदमा अविश्वासको प्रस्तावको पक्षमा भारी बहुमत आए सँगै उनको सरकार तीन महिनामै ढलेको हो । 

५ सय ७७ सदस्यीय संसद्मा अविश्वासको मत पारित हुन २ सय ८८ मत चाहिनेमा ३ सय ३१ मत परेको थियो । प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ’सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजे पछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल र्‍यली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार फ्रान्समा ६२ वर्ष पछि पहिलो पटक देशको सरकार अविश्वासको प्रस्तावले ढलेको हो । यस सँगै बार्नियर देशको इतिहासमै सबै भन्दा कम शासन गर्ने प्रधानमन्त्री भएका छन् ।  बार्नियर अब राष्ट्रपति इम्यानुएल म्याक्रोँन समक्ष राजीनामा बुझाउने अपेक्षा छ । 

राजीनामा बुझाए पनि राष्ट्रपति म्याक्रोंनले उत्तराधिकारी चयन नगर्दा सम्म उनी कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यरत हुनेछन् । यसैबीच राष्ट्रपति म्याक्रोँनले आज(बिहीबार) देशवासीका नाममा सम्बोधन गर्ने बताईएको छ । 

प्रतिक्रिया