तनहुँको बागेश्वरी मोटरमार्ग १० दिन बन्द रहने

दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक १० दिन बन्द गरिने भएको छ । उक्त मार्गको बरभञ्ज्याङ देखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण शुरु गरिएकाले दश दिन बन्द गरिएको हो । 

बुधबार देखि दश दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिए । उक्त मोटरमार्गको घाँसीकुवा देखि बरभञ्ज्याङ सम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ ।

उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ । बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र शुरु गरिएको हो । सङ्घीय सरकार बाट ४ करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्र लगायत स्तरोन्नतिको काम शुरु गरिएको भट्टराईले बताए। व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए ।

पहिलो चरणमा व्यास नगरपालिका–११ शेरा देखि ढुङ्गाखानी सम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ । जसअनुसार पाँच दशमलव पाँच देखि सात दशमलव पाँच मिटर सम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ । हाल सम्म आठ सय ५० मिटर सडक कालोपत्र भइसकेको छ । अध्यक्ष भट्टराईले भने, “सडक खुलेको ३१ वर्षपछि यसको स्तरोन्नतिको काम भइरहेको छ । सडक कालोपत्र सँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ । 
रासस 

प्रतिक्रिया