कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश

ताप्लेजुङ । ताप्लेजुङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरानले फाइनल यात्रा तय गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा तेह्रथुमको सम्दु फुटबल क्लबलाई प्यानल्टी सुटआउटमा ५–२ ले पराजित गर्दै गोधुलीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा खेल ४–४ को बराबरीमा टुङ्गिएपछि प्यानल्टी सुटआउटमा निर्णय भएको थियो । बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको न्यू स्टार क्लब बिर्तामोड र इलामको रेड डेभिल्स माइजोगमाईबीच प्रतिस्पर्धा हुने छ ।

शनिबार हुने फाइनलमा विजेताले ट्रफीसहित रू तीन लाख दुई हजार ८१ नगद पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले रू एक लाख ५१ हजार ८१ नगद पुरस्कार पाउने छ ।  प्रतियोगिता लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा चासोक तङ्नाम सञ्चालन समितिले आयोजना गरेको हो ।

समिति संयोजक चन्द्रकुमार थेबेका अनुसार खेलले समुदायबीचको सद्भाव र खेलकुदको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।  
 

प्रतिक्रिया