सरकारले साहसिक र जनपक्षीय कामहरु गरिरहेको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षिय कामहरु अघि बढाइरहेको दाबी गरेका छन् ।शनिवार पार्टी केन्द्रिय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको बताएका हुन् ।उनले सरकारले अघि बढाएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी समेत गरे । प्रधानमन्त्री दाहालले रुपान्तरण अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने विश्वास पनि व्यक्त गरे ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले भर्चुअल माध्यमबाट देशभर तीन महिने अभियानको उद्घाटन गरेका हुन् । अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखिएको छ ।संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्ववपूर्ण हुने अध्यक्ष दाहालको विश्वास छ ।

प्रतिक्रिया